२०८१ कार्तिक २२ गते बिहिवार / Nov 07 , 2024 , Thursday
Ads

नयाँ नेतृत्व चयन गर्दै सकियो खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन (फोटो फिचर)

२०८१ जेठ १९ गते १७:३९
नयाँ नेतृत्व चयन गर्दै सकियो खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन (फोटो फिचर)

दोहा, कतार : कतारको पहिलो सामाजिक संस्था खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन-२०२४ सम्पन्न भएको छ । शुक्रबार वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी एक कार्यकालका लागि डिल्लिशेर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पर्शुराम श्रेष्ठ (पवन), उपाध्यक्षहरूमा क्रमशः चुडामणि पुरी, जीवन राई र रबिन शेर्पा, महासचिवमा महेश दाहाल, सचिवमा बुद्धि गिरी र सरोज काजी पाण्डे, कोषाध्यक्षमा विश्वकला राई र सह-कोषाध्यक्षमा श्याम आचार्य चयन भएका छन् । त्यस्तै कार्यसमितिका सदस्यहरूमा एसन भुजेल, तेज बहादुर खत्री, अपिस राई, सञ्जीव परियार, चित्र कुमार गुरुङ, लेखनाथ पुरी, सुजन थुलुङ राई, एलिशा राई र प्रेम बहादुर राई चयन भएका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रुद्र प्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष कैलाश श्रेष्ठको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । अधिवेशनमा बोल्ने वक्ताहरूले कतारको जेठो संस्थाले कतार र जिल्लामा मानवीय हितमा गरेका कार्यसम्पादनको प्रशंसा गरेका थिए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले कतारमा सामाजिक संस्थाको शुरुवात खोटाङबाट भएको र त्यसको प्रत्यक्ष साक्षी आफू रहेको बताए । आफू वि.सं. २०५३ मा कतार आएको र २०५४ मा यस संस्थाको स्थापना भएको स्मरण गर्दै उनले समाजले एनसीसीसँग समेत समन्वय गर्दै कार्यसम्पादन गर्ने गरेकोप्रति खुसी व्यक्त गरे । भट्टले भोजपुरको एक विकट गाउँमा स्कुल बनाउन कतार च्यारिटीसँग समन्वय गरिरहेको जानकारी दिँदै एनसीसीको यही कार्यकालमै नेपाली स्कुल र कल्चरल हाउस सञ्चालनका लागि तदारुकतासँग छलफल अगाडि बढिरहेको बताए ।

कलाकार गौतम लिम्बूले एकल गायन,  गुना मगर "निशु" र एकराज राईले युगल गायन तथा नृत्यंगना सरिता श्रेष्ठ, निरु श्रेष्ठ र सुनिता शेर्पाले आफ्नो नृत्यमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरे । अधिवेशनमा खोटाङे साहित्यकार लेख कार्कीले गजल वाचन गरेका थिए । कार्यक्रममार्फत समाजभित्र र बाहिरका विभिन्न व्यक्तित्वहरुलाई समाजलाई विशेष योगदान पुर्‍याएको भन्दै सम्मान पत्र तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो । 

अधिवेशनमार्फत एनआरएनए द सिंगर प्रतियोगितामा फाइनलिष्ट बनेकी लोक तथा दोहोरी गायिका गुना मगर र गैरआवासीय नेपाली तारा-२०२३ मा नृत्य विधातर्फ फाइनलिष्ट बन्न सफल निरु श्रेष्ठलाई नगदसहित बधाई तथा प्रोत्साहन पत्रले सम्मान गरिएको थियो भने अधिवेशनमा सांगीतिक प्रस्तुति दिने कलाकारलाई नगद पारिश्रमिक उपलब्ध गराइएको थियो । अधिवेशनमार्फत समाजका प्रमुख सल्लाहकार रुद्र प्रसाद आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समाजका सल्लाहकारहरूको तर्फबाट जैवी राई, संस्थापनका तर्फबाट संस्थापक सदस्य चानक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । वरिष्ठ उपाध्यक्ष डिल्लिशेर खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव पर्शुराम श्रेष्ठले सहजीकरण गरेका थिए भने खुला सत्रको समापन गर्दै सभापति श्रेष्ठले ११औं अधिवेशनदेखि १२औं अधिवेशनसम्मको एक कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर