–ओम बस्नेत
हामी चार भाइ लेक साइडको एउटा होटेलमा बसेका थियौँ । फेवाताल र वरिपरिको सुन्दर दृश्य हेर्दा साँच्चै स्वर्ग कतै छ भने पोखरा स्वर्ग नै हो । विशाल तालको नजारा हेर्नकै लागि दुई वटा ठाउँ सारनकोट र पुमदीकोटलाई विकास गरिएको रहेछ, जहाँबाट सम्पूर्ण पोखरालाई हेर्न सकिन्छ । पहिला नौकामा चढेर फेवातालको अवलोकन गर्ने सल्लाह भयो हाम्रो ।
म चाहिँ टिकेट काउन्टरतिर लागेँ । साथीहरू लाइफ ज्याकेट लगाएर सेल्फी हान्दै थिए । दृश्य यस्तो सुन्दर छ की फोटो नखिची बस्न सकिन्न पनि ।
काउन्टरतिर जाँदै गर्दा कालो गगल्स, सेतो टी शर्ट, कालै पेन्ट लगाएकी बिस–बाइसकी केटीले म भएकोमा आएर, “दाइ, हजुरहरू कति जना हुनुहुन्छ ?” भनेर सोधिन् ।
“हामी चार भाइ छौँ”, भने ।
“नौका रिजर्भ गर्नु हुँदैछ भने हामीलाई पनि तपाईँको ग्रुपमा लानुस् जम्मा छ जना हुन्छौं । दुई जना होस् या छ जना, पैसा त्यति नै पर्छ । बरु हामी आधा पैसा हजुरहरूलाई दिम्ला नि”, भनिन् । अर्कीले पनि त्यसै कुरा थपेर भनिन्, “हो नि हामीलाई पनि सस्तो पर्छ अनि हजुरहरूलाई पनि ।”
मैले “हुन्छ” भने ।
मेरा मित्रहरू पनि खुसी नै भए दुई जनाको साथ पाउँदा । छ जना चढ्यौँ एउटै नौकामा । एक घण्टा फेवातालको घुमाई कति छिटो बित्यो थाहै भएन । दुवै जनाको पेसा एउटै रहेछ नाच–गान ।
गफै–गफमा दोस्ती बढ्यो । उनीहरूले पैसा दिन खोज्दै थिए हामीले लिएनौ । बेलुकी नौ बजे उनीहरूको कार्यक्रम हेर्न हामी जाने भयौँ ।
सेक्युरिटीको सलाम थापेर भित्र पसेको कुइरी मण्डल धुवा सँगै चहकिने लाइट र ठूलो म्युजिक बजिरहेको थियो । स्टेजमा दिउँसो भेटेको केटी हो की होइन भनेर ठम्याउनु खोजेको उसैले चिनेर हातको इशाराले बस्ने सोफा देखाइन् । चार भाइको लागि पहिलेबाट लामो सोफा खाली रहेछ ।
मेरो एक जना साथीले ह्विस्की अर्डर गरे । हल्का स्न्याक्स आयो । डान्स बवाल गर्दी रहिछन् । मेकअप र लाइटले गर्दा धेरै आकर्षित लाग्यो । नौ÷दस जनाले पालैसँग नाचे । तर, हिन्दी गीतमा नाची रहेका छन् । हामीले पनि बसेकै ठाउँमा घरी–घरी बटारे नाच देखायौँ ।
यत्तिकैमा एक जना नतर्की आएर मेरो कानमा भनिन् “दाइ हामी पनि टकीला खान्छौं ल ।”
मैले “हुन्छ लिनुस् न के छ र” भने ।
बारमा हेरेको सानो सिसीबाट एक तालमा स्वाट्ट पारेर निम्बूको सानो चोइटा चुसेको देखेँ । थुप्रैले काउन्टर जाँदै त्यसै गरेको देखेँ । जति जना थिए, तिनीहरू सबैले हामी चार भाइलाई सोधेर टकिला काउन्टरबाट थापेर पिउँदा रहेछन् ।
सानो सिसीमा के खाको होला, बरु सिङ्गो बोतल नै खानु नि जस्तो लाग्यो तिनीहरूको खुवाई देखेर ।
हामीले नाचको भरपुर मजा लिइरहेका थियौँ ।
समय रातको ब्राह नाघी सकेको छ ।
पछाडि पट्टी एउटा केटाले धेरै चोटि त्यो सर्भिस गर्ने केटीलाई बोलायो तर, उसले ध्यान दिइन ।
रिसले बडबडायो ।
“साली आज भारुवाला लाहुरेहरू लुट्ने दिन रहेछ र पो हामीलाई याद नगर्दी रहिछे । जाम केटा हो हामी अर्को बारतिर ।” भनेर निस्के बाहिर । मलाई चिसो पस्यो ।
म काउन्टरमा गएर “भाइ हाम्रो बिल कति भयो ?”
भनेर सोधेको “हजुरहरूको बिल असी पार भयो” भन्छ ।
म आत्तिएर फेरि सोधेँ “असी ?”
उसले फेरि भन्यो “असी हजार ।”
“कसरी भाइ हामीले त दुई/चार पेग र स्न्याक्स खाको कसरी त्यत्रो हुन्छ ? तपाईँको ह्विस्कीको दाम कति हो ?” भनेर आपद् जनाएँ ।
“त्यसको बिल त करिब पन्ध्र हजार जति मात्रै हो तर, टकिला सिङ्गलको हजार रुपैयाँ भारु हो । नेरूमा सोह्र सय हो हुन्छ” भन्यो ।
“भाइ यो असी हजार चाहिँ भारु की नेरूमा हो ?”
“अब हजुरहरू इन्डियन भएपछि भारूमा हिसाब गर्या हो” भन्छ ।
अब बिखर्ची हुने रहेछौ भनेर चक्कर लाग्यो । यत्तिकैमा फेरी एउटी काउन्टरमा हुरिँदै आएर “वान टकिला पी..ली..ज... ।”
यो गतिविधि देख्ने साथै भनी हालेँ, “भाइ अब यो टकिला दिनु बन्द गर त प्लिज ।”
अब आर्थिक सङ्कट आइ लाग्यो र साथीहरूलाई बताएँ । सबै फ्रेस भएछन् र एकै मुख लागेर विरोध जनायौ ।
“भाइ यो त अति नै भयो । उनीहरूले खाको पनि हामी तिर्नुपर्ने हो ?” हामीले चर्को स्वर निकाल्यौँ ।
उताबाट झर्को स्वरमा प्रति उत्तर आयो, “हामीले सोध्या हो दाइहरूलाई बढ्ता कुरा गर्ने होइन । जे भन्नु छ उ पर साहुजीसँग गर्ने ।”
पर हेरेको एक जना देखेँ । “साहु जी हो उहाँ” भनेर कन्फर्म गरेँ ।
“हो” भन्यो काउन्टरको केटाले ।
छेउमा पुगेर हेरेँ चुरोट तानिरहेको, गलामा सुनको लट्ठा बाँधेको, हिन्दी फिल्मको खलनायक गोगा कपूर जस्तो ।
मैले हिम्मत गरेर भनेँ, “साहु जी, हामी त टुरिस्ट हो । यस ठाउँको राम्रो जानकारी पनि थिएन । विशेष त हाम्रोमा त्यस्तो बेसी पैसा पनि छैन । यसो हल्का रमाइलो गर्नु मात्र आएको हो । हामीले खाको त तिर्छौँ तर, त्यो नाच्ने बहिनीहरूले खाको त हामी कसरी तिर्नु र ? यिनीहरू त यहीँ काम गर्दा रहेछन् । एक जना बहिनीसँग दिउँसो फेवातालमा भेट भएको थियो उसैले बोलाएर त हामी आको नि ।” साथीहरूले पनि हँ मा हँ मिलाए ।
“म त्यो बहिनी बोलाउँछु ल साहूजी ।”
भनेर स्टेज पट्टी हेरेको स्टेज खाली छ ।
“ओए भाइ यो मान्छेहरू मातेपछि ल्याङ्ग ल्याङ्ग गर्दो रहेछ यार बिलमा दस हजार कम गरी दे । मानेन भने म एकछिन पछि आउँछु अनि हिसाब किताब हुन्छ ।”
भनेर उठेर हिँड्यो ।
भोलिपल्ट मात्र थाहा भयो ‘दोहोरी’ भनेर हामी फोहोरी ठाउँमा पुगेका रहेछौँ ।