–रसुवाली कवि
नेकपा एमालेभित्र वैचारिक बहस गर्न रुचाउने नेतामा पर्छन् कमरेड विष्णु रिमाल । एक भेटमा उनले उमेश उपाध्यायसँग मिलेर सम्पादन गरेको पुस्तक ‘द्वन्द्वबाट रूपान्तरणतिर’ उपलब्ध गराएका थिए । समय निकालेर यस पुस्तकका मुख्य अध्यायहरू अध्ययन गरे । पुस्तक पठनीय लाग्यो । केही लेख्ने जमर्को गरेको छु । यो सामाग्री पुस्तक पढेपछि मलाई लागेका कुराहरू हुन ।
पुस्तकको मूल विषय जे भएपनि सारमा यस पुस्तकले नेकपा (एमाले)को वैचारिकतालाई बोक्छ । नेपाली समाजलाई बुझ्ने सन्दर्भ पुस्तकका विषयले केही न केही वैचारिकता अवश्य दिन्छ । पुस्तकमा आवरण एक फोटो देखिन्छ । एक दूर पहाडमा देखिने एक झोलुङ्गे पुल छ । अलि पर हरियो बन छ । पुल भर्खरै बनेको जस्तो लाग्छ । यो झोलुङ्गे पुल आजको ग्रामीण जीवनको एक प्रतीकात्मक चित्र पनि हो ।
पुल आफैँमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने माध्यम हो । पुस्तकमा नेपाली समाज एउटा अवस्थाबाट अर्को अवस्थासम्म पुग्ने कुरा गरिएको छ । अभिधा प्रयोग गरी बुझ्दा चित्रले एकखालको भाषा बोलेकै छ । आवरण चित्रले पुस्तकले उठाउन खोजेको विषयलाई बोक्न सक्ने सामथ्र्य राख्छ । एकखालका मानिसहरू लोककल्याणकारी राज्यको कुरा गरिरहेका छन् । अर्कोथरी मानिसहरू समाजउन्मुख राज्यको कुरा गरिरहेका छन् । दुवै एउटै सरकारमा छन् । तर, तिनीहरू दुवैको वैचारिक र व्यवहारिक चरित्र भनेको बुर्जुवा छ । अझै राजनीतिक शब्द प्रयोग गर्दा बुर्जुवा लोकतान्त्रिक भन्न सकिन्छ ।
यसै पुस्तकमा घनश्याम भुषाल ग्राम्सीको उदाहरण दिन्छन् । ग्राम्सी भन्छन्– यद्यपि वर्चस्व नैतिक राजनीतिक हुन्छ, यो आर्थिक पनि हुनैपर्छ । शासक वर्गले अभ्यास गरेका निर्णायक आर्थिक गतिविधिहरूका केन्द्रमा पनि अनिवार्यरूपले आधारित हुनैपर्छ । (बर्चस्व, मार्क्सवाद र जबजका प्रश्नहरू, पेज–२५६)
नेपाली समाजमा मार्क्सवादी वृतमा ग्राम्सीलाई रूचाउने र नरुचाउने दुबै खालका बुद्धिजीवीहरू छन् । घनश्याम भुसालहरूले ग्राम्सीलाई नेपाली सापेक्ष अनुरूप बहसमा ल्याएका छन् । यस पुस्तकमा ग्राम्सीका उदाहरणमा ठाउँ–ठाउँमा भेटिन्छन् । वर्चस्वलाई ग्राम्सीले जसरी नैतिक र राजनीतिक प्रश्नसँग जोडेका छन् । ती बहसको अन्तर्य बुझ्न हामीले मार्क्सवादलाई आधार बनाउनैपर्छ । नेपालका मार्क्सवादीहरू यता पनि बहस गरून् । लेनिन, मार्क्स, एंगेल्स हुँदै ग्राम्सीसम्मलाई बहसमा ल्याउँदा आलोचनात्मक चेतको दायरा बढ्छ पनि । वर्चस्वलाई हामी कुनै वर्गको वर्चस्व हो भनेर बुझ्न पनि यी बहस चाहिन्छ नै । नेपाली कम्युनिस्ट आन्दोलनले टक्क उभिएर बहस गर्नैपर्छ । द्वन्द्वबाट रूपान्तरण पुस्तकले यस्तै थप बहसको माग गर्छ ।
ट्रेड युनियनको आन्दोलनले २४ घण्टालाई तीनले भाग लगाउने चलनबाट हामी माथि उठ्नुपर्छ । यो पनि चाहिन्छ र तर अरू आयामहरू पनि मजदुरका जीवनमा थपिएका छन् । आज लाखौं लाख नेपाली युवाहरू विदेशी भूमिको श्रम बजारमा छन् । उनीहरू काम गर्छन् तर, उनीहरूको कुनै भविष्य छैन । उनीहरूले काम गरेको रकम थोर बहुत रकम त पाउँछन् तर, बिरामी भएमा वा घाइतेमा भएमा उनीहरूको अधिकार कुण्ठित हुन्छ । विकसित देशमा गएका मजदुरभन्दा खाडीका देशहरूमा पुगेका मजदुरहरूको अवस्था दयनीय हुँदै गएको छ । विष्णु रिमाल र उमेश उपाध्यायहरूले पनि यता बहस गर्न जरुरी छ ।
यसै पुस्तकमा विष्णु रिमाल लेख्छन्– राजनीतिक दलहरूले लिने दर्शन र विचारधारा मूलतः श्रमशक्तिको प्रयोग, त्यसबाट आर्जन हुने मुनाफा र मुनाफामाथि नागरिकको हकसँग सम्बन्धि दृष्टिकोण हो । त्यसको प्रयोग र व्यवस्थापन कसरी गर्ने भन्नेमा आउने विविधताले दलहरू भिन्न–भिन्न हुन पुग्छन् र उनीहरूले अङ्गालेको दृष्टिकोणकै आधारमा समाजमा त्यो दलको पहिचान कायम हुनुपर्छ । यसबाटै को श्रमजीवी वर्गीय को पुँजीवादी पक्षीय भन्ने मानक तय हुनपुग्छ । (द्वन्द्वबाट रूपान्तरणतिर पेज ix)
रिमालले ‘प्रस्थान बिन्दु’ शीर्षकको लेखमा उठाएको विषयले समाजमा बहसको माग गर्छ । पुस्तकमा समेटिएका वक्ता तथा लेखकले उठाएका सन्दर्भ पनि यसै वरिपरि छन् । आज एमाले र माओवादी केन्द्रले लिएको विचारधारा कस्तो छ ? के आजको वर्ग चरित्रअनुरूप कम्युनिस्ट पार्टीहरूका विचार र व्यवहारमा समन्वयन भएको छ ? हामी कतै ल्हासा जान सिराहाको बाटो त हिँडिरहेका छैनौं । बहस यहीँनेरबाट पनि थाल्नुपर्ने पनि हुनसक्छ । दृष्टिकोणलाई कागजी बाघ हुनबाट जोगाउनुपर्छ ।
तल्लो तहका जनताको माझबाट आएका वर्षमान पुन ‘अनन्त’ अहिले अर्थमन्त्री छन् । जनयुद्धको क्रममा जनताको झुपडीमा खोलेफाँडो खाँदै, राज्यको दमनबाट बच्दै, ग्रामीण जनता खेतबारीमै उनको राजनीतिक व्यक्तित्व बनेको हो । जसको कारण पनि यसपटक बजेटमा निम्न तहका मानिसहरूलाई समेटेर यति महत्वको कार्यक्रम आउँछ भनेर सोच्नेहरूमा पंक्तिकार पनि थियो । बजेटको धेरै शब्द निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भनेर आयो । निम्न मध्यम र आधारभूत तहका मानिसहरूलाई बजेटले सम्बोधन गर्न सकेन । निजी क्षेत्रलाई धेरै सम्बोधन गरिएको बजेटलाई निजी क्षेत्रले नै सहर्ष स्वीकार्न सकेन । यी हाम्रा सीमा र बाध्यता हुन् ।
ट्रेड युनियन आन्दोलनबाट नै स्थापित शालिकग्राम जमरकट्टेल बागमतीका मुख्यमन्त्री भए, तर मजदुरका मुद्दामा उनी केन्द्रित भए जस्तो देखिएन । यसै पुस्तकमा रुघु पन्तले एउटा मार्मिक प्रसङ्ग ल्याएका छन् । उनी लेख्छन् –जर्मन नाटककार गेटेको प्रसिद्ध नाटक छ फाउस्ट, त्यसको एउटा पात्र के भन्छ भने सिद्धान्तको रङ्ग खैरो हुन्छ, जीवनको रंग हरियो, जब सिद्धान्त र जीवनका बीच द्वन्द्व उत्पन्न हुन्छ तब, जीवनले आफ्नो बाटो लिन्छ र सिद्धान्त एकातिर पर्छ । (मान्छेहरू दुई प्रकारले बन्दी हुन्छन् शारीरिक र मानसिक रूपमा पेज–३००)
रघु पन्त पन्त साहित्यमा रूचि भएका नेता हुन । उनले ल्याएको यो मार्मिक प्रसङ्गको मार्मिक अर्थ पनि छ ।
पुस्तकमा थुप्रै बिद्धानहरूको लेखहरू छन् । देवराज दाहाल, अरोकिया दास र राजन भट्टराई, प्रो. लेफ बिजेलिन, कृष्ण उपाध्याय, उमेश उपाध्याय, डा. अर्जुन कार्की, गौरी प्रधान, मोदनाथ प्रश्रीत, घनश्याम भुसाल, डा. शिव शर्मा, डा. गोविन्द नेपाललगायतको लेख रहेको छ । प्रत्येक लेखहरू बारे टिप्पणी गर्न सकिन्छ । यो सानो लेखमा लामो टिप्पणी गर्न सम्भावना छैन ।
लामो राजनीतिक संघर्षपछि समाजको रूपान्तरण कसरी गर्न सकिन्छ ? नेपाली समाजको बहुआयामिकता के–के हुन् ? नेपाली समाज आर्थिक, राजनीति र सांस्कृतिक आयाम के–के हुन् ? बहुदलीय जनवाद कस्तो राजनीति विचार हो ? यीलगायत थुप्रै विषयका आयामिक बहसमा बुनिएको ‘द्वन्द्वबाट रूपान्तरणतिर’ पुस्तक एउटा गहकिलो सामाग्री हो ।