–नरेन्द्रमान श्रेष्ठ
कलिउड चलचित्रकर्मीहरूले प्रचार प्रसारको लागि अनेकौं स्टण्टबाजीहरू गर्ने गरिरहेका छन् । पछिलो समयमा पनि सामाजिक सञ्जालमार्फत एक अभिनेताले आफ्नो चलचित्र नचले चलचित्रबाट सन्यास लिने भनेर घोषणा गरेका थिए । तर, चलचित्र चलेन यद्यपि, उनले आफ्नो घोषणाबारे भन्ने बोल्न छाडेका छन् । उनीहरूले फिल्मको प्रचारका लागि भारतीय कलाकारको समेत तस्बिर राखेका थिए । फिल्ममा भूमिका नै नभएका ति कलाकारको तस्बिर राखेर उनीहरूले फिल्म प्रचारको शैली अपनाएका थिए । यद्यपि, भारतीय कलाकारको तस्बिर सहारा लिँदा पनि फिल्म चल्न सकेन ।
चलचित्र चलाउन, चलचित्रले राम्रो व्यापार गर्न, दर्शकहरूलाई चलचित्रप्रति आकर्षित गर्न, प्रचारबाजी स्टण्टबाजी होइन चलचित्रको कन्टेन्ट राम्रो हुनुपर्छ । विडम्बना, त्यतातिर नेपाली चलचित्र निर्माता तथा कलाकार ध्यान जान सकेको छैन । उनीहरू सस्तो लोकप्रियतामै आफूलाई भुलाइरहेका छन् ।
हालै अमेरिकाबाट फर्किएका अभिनेता रमित ढुङ्गानाले आफ्नो चलचित्र नमेटिने घाउमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र माधवकुमार नेपाललाई अभिनय गराएका छन् । दुई नेताको अभिनयपछि चलचित्रको चर्चा यसै चुलिएको छ । त्यसो त नेताहरूले अभिनय गर्ने भनेको खासै ठूलो कुरा भने होइन । उनीहरूको दैनिकी नै अभिनयमा चलेको भन्ने आरोप लाइरहन्छ । तर, कलाकारहरू भने चलचित्रहरूमा अभिनय गर्ने गरेका हन्छन् । त्यसो त नेपालका कतिपय कलाकारहरूले पनि राजनीति गर्ने गरेका छन् । चलचित्रका थप्रै कलाकारहरूले विभिन्न राजनीतिक दलहरूमा प्रवेश गरेका छन् । चलचित्रका थप्रै कलाकर्मीहरू राजनीतिको सक्रिय भूमिकामा पनि छन् ।
कुनै समयका सुपरहिट फिल्म दिने नायक भुवन केसी नेपाली कांग्रेसमा आबद्ध छन् । उनी कांग्रेस बनेसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पनि बने । विभिन्न राजनीतिक नियुक्ति पाउनकै लागि पनि कलाकारहरू पार्टीमा आबद्ध हुने गरेको आरोप छ । अभिनेत्री रेखा थापा पनि राजनीतिमा सक्रिय छिन् । गत आम निर्वाचनमा पनि राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नै बनेकी थिइन् । यद्यपि, उनले मतदाताको मन भने जित्न सकिनन् । थापा माओवादी हदै राप्रपामा पुगेकी थिइन् ।
त्यसो त कलाकर्मीहरूको राजनीतिमा प्रवेश गर्ने भनेको सामान्य हो तर, राजनीतिक दलका शीर्ष नेताहरू जो प्रधानमन्त्री भइसकेका छन्, उनीहरू चलचित्रमा प्रवेश गर्ने भनेको सामान्य होइन । त्यसो त पटक–पटक राज्यसत्तामा पुगेका यी नेताहरूबाट जनताले अपेक्षित भूमिका पाउन सकेका छैनन् । उनीहरूको नेतृत्व र कार्यकुशलतामाथि ठूलो प्रश्न खडा भएको छ । कतिपयले चलचित्रको नाम झैँ नेताहरूले ‘नमेटिने घाउ’ दिएको भन्ने आरोप पनि लगाउँछन् ।
विदेशमा फिल्म निर्माताले फिल्म चलाउन र राजनीतिज्ञले जनतामाझ लोकप्रिय हुने अनेकन स्टनबाजी गर्छन् । जुन बलिउडलगायतका फिल्म क्षेत्रमा देखिन्छ । जसको सिको नेपालमा पनि भएको भन्दा अतियुक्ति हुन्न । यद्यपि, दर्शकले रोज्ने स्टन होइन, कला हो । कथा हो । जसप्रति ध्यान दिनु आवश्यक छ ।
नेपालको चलचित्रको इतिहासमा सबैभन्दा बढी कमाइ गरेको चलचित्रहरूमा ‘छक्कापन्जा’ र ‘कबड्डी–कबड्डी’को सिरिज पर्दछ । जसमा ‘महाजात्रा’ सिरिज पनि थपिएको छ । यी चलेका फिल्ममा न कुनै विदेशी कलाकारलाई देखाइएको छ न त नेताहरूलाई भित्र्याइएको छ । यिनीहरूको कथा पनि निकै अर्गानिक शैली र आफ्नै गाउँठाउँका छन् । यद्यपि, अन्यको केही सिक्नै नहुने भन्ने होइन ।
एउटा नेपाली फिल्म क्षेत्रको शुभेच्छुको हिसाबले भन्दा निर्माता तथा निर्देशक अनि कलाकारलाई कथावस्तु र प्रस्तुतीमा ध्यान दिन सुझाव छ । जबसम्म तपाईँले आफ्नै मौलिकताको कथामा फिल्म बनाउनुहुन्न, जबसम्म प्रस्तुत वास्तविक लाग्दैन, तबसम्म तपाईँको फिल्म चल्दैनन् । जसमा विदेशी कलाकार वा कुनै नेता उभ्याएर केही हुँदैन । ति सस्ता लोकप्रियतावादी काम हुन् । ति धेरै टिक्दैनन् । जसको प्रतिफल राम्रो हुँदैन ।