२०८१ कार्तिक २२ गते बिहिवार / Nov 07 , 2024 , Thursday
Ads

सरकारले दिनुपर्ने शीतल

२०८१ जेठ २० गते ११:१९
सरकारले दिनुपर्ने शीतल

जल तथा मौसम विज्ञान विभागले यो वर्ष छैटौपटक तातो हावा आउन सक्ने चेतावनी जारी गरिसकेको छ । मनसुन भित्रन नसकेकाले तातो हावाको चेतावनी फेरि थपिन सक्ने अनुमान गरिएको छ । तातो हावाले तराईका जिल्लाहरुका जनजीवनलाई नराम्रो असर गर्ने भएकाले विभागले पूर्व चेतावनी दिने गरेको छ । यसपटक हिउँदमा वर्षा नभएकाले तातो हावाको जोखिम बढिरहेको छ । विभागका अनुसार गत २० अप्रिलमा भैरहवाको तापक्रम ४३.६ डिग्री सेल्सियस थियो । यो तापक्रम वर्षभरकै उच्च हो । त्यस दिनपछि तापक्रम केही घटेपनि धनगढी, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, दिपायल, सुर्खेत जस्ता क्षेत्रको तापक्रम  ४० डिग्री सेल्सियस हाराहारी छ । यो तापक्रम आफैमा जनजीवनलाई असर पार्ने तहको हो । किनकि नेपालको अहिलेसम्मको उच्च तापक्रम ४६.४ डिग्री सेल्सियस हो, जुन सन् १९९५ को जुन १६ मा मापन गरिएको थियो । 

झण्डै ३० वर्ष अगाडिको त्यो तातो फेरि दोहोरिन सक्ने चेतावनी र अनुमान अध्येताहरुले गरिरहेका छन् । किनकि नेपालको औसत तापक्रम लगातार बढिरहेको छ । सन् २०२३ त इतिहासकै तातो वर्ष बन्न पुगेको थियो । विश्वब्यापी अध्ययन र मापनका आधारमा सन् २०२३ इतिहासकै तातो वर्ष बनेको हो । यो कीर्तिमान आउने वर्षहरुले तोड्ने रहेको अध्येताहरुको चेतावनी छ । किनकि बढ्दो शहरीकरण, ग्रीनहाउस ग्याँस र इन्धनको अत्याधिक प्रयोग, वन विनाश र औद्योगिकरणका कारणले पृथ्वीकै तातो बढिरहेको छ । 

यस्ता मानवीय क्रियाकलापका कारण जलवायु परिवर्तन हुँदा नेपाल जस्तो हिमाली मुलुक समेत प्रभावित बन्न पुगेको छ । समयमा वर्षा नहुने, तातो हावाको संभावना बढ्ने अनि मनसुन भित्रनसाथ अधिक वर्षा हुने जस्ता गतिविधि जलवायु परिवर्तनकै असर हुन् । अध्ययनहरुका अनुसार नेपालमा ८० प्रतिशत वर्षा मनसुनकै बेला हुने गर्छ । तातो हावा अनि अधिक वर्षा जस्तो मौसम बालबालिका, सुत्केरी महिला, बृद्धा तथा दीर्घ रोगीहरुका निम्ति जोखिमयुक्त मानिन्छ । किनकि गर्मीले झाडापखाला, निमोनिया, भाइरल ज्वरो, टाउँको दुख्ने लगायत समस्या निम्त्याउँछ । तातो बढेकैले केही वर्षदेखि लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप उच्च पहाडी क्षेत्रमा समेत देखिन थालेको छ । अरु मानवीय असर बढ्दैछ । यस्ता समस्याको हल सरकारले अल्पकालीन र दीर्घकालीन रुपमा गर्न आवश्यक छ । अल्पकालीन योजना भनेको कमजोर वर्ग र उमेरका नागरिकलाई बचाउने हो भने दीर्घकालीन योजनामा पर्यावरणीय प्रकृति जोगाउने हो । विशेषगरी वृक्षरोपण बढाउने र प्राकृति साधनस्रोतको अधिक दोहन रोक्ने हो । 

ADVADV

सम्बन्धित खबर